हालैका दिनमा जापानी पासपोर्ट लिन चाहने विदेशीहरुको संख्या वृद्धि भएको छ । आजभोलि जापानमा बसेका नेपालीहरु पनि यसप्रति निकै आकर्षित देखिन्छन । जापानी पासपोर्ट लिनुलाई जापानीमा किखा गर्ने भनिन्छ । यो भनेको विदेशी नागरिकलाई जापानी नागरिकता प्रदान गरिने प्रणाली हो । जापानी नागरिक बनेपछि विदेशी नागरिकले पनि जापानी नागरिक सरहकै सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । त्यसो त किखा गर्ने चाहना भएर मात्र पनि हुँदैन । यसका लागि तोकिएको मापदण्डहरु हुन्छन् र त्यो पुरा गरेको खण्डमा मात्र प्राप्त गर्न सकिन्छ । त्यसो त एइज्यू भन्दा किखा गर्न सहज छ भन्ने पनि गरिन्छ । कतिपय कुराहरु समान भए पनि किखा र एइज्यू लिनको लागि पुरा गर्नु पर्ने मापदण्ड आ–आफ्नै छ । जापानी नागरिक बन्नको लागि आवश्यक मापदण्ड पुरा गरेर आवेदन दिएपछि न्याय मन्त्रीद्वारा स्वीकृत गरी त्यसको नतिजा राजपत्रमा उल्लेख गरिन्छ । आवेदन दिएपछि नजिता आउने समय हरेकको वेग्लावेग्लै हुन्छ र साधारणतय एक वर्ष वा सो भन्दा बढी लाग्ने गरेको पनि पाइन्छ । आउनुस् आज हामी यसको लागि योग्य हुनको लागि के के मापदण्ड पुरा गर्नुपर्छ ? त्यसको बारेमा जानकारी लिऔं ।
१) जापान बसाइको अवधीः किखा आवेदन गर्नको लागि जापान बसेको ५ वर्ष पुरा गरेको हुनुपर्दछ । जापानमा कानूनतः ठेगाना दर्ता भएको व्यक्ति लगातार ५ वर्षदेखि जापानमा बसोबास गर्दै आईरहेको छ भने उक्त व्यक्ति किखा आवेदनको लागि योग्य हुन्छ । त्यसो त कतिपय अवस्थामा एक पटक ३ अथवा ५ वर्षको भिसा प्राप्त नगरेको खण्डमा आवेदन गर्न नसकिने पनि हुन्छ ।
२) राम्रो आचरणः किखा आवेदन गर्ने व्यक्तिको आचरण पनि राम्रो हुनु उत्तिकै आवश्यक छ । विशेष त जापान बसाईको क्रममा समयमा नै कर तिरेको, कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न नभएको हुनुपर्दछ । समग्रमा यो हो कि आवेदकले कुनै पनि सामाजिक समस्या ल्याउने गतिविधी नगरेको हुनुपर्दछ । असल आचरण भएको व्यक्ति हुनुपर्दछ ।
३) दक्षताः जापानमा नागरिकता लिएर बस्नको लागि आवेदकसँग प्रयाप्त सीप अथवा दक्षता छ कि छैन भन्ने कुराले पनि महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैगरी आवेदक आर्थिक हिसावले जीवनयापन गर्नको लागि सक्षम छ भन्ने कुराको प्रमाणित भएमा नागरिकता प्राप्त गर्ने सम्भावना बढेर जान्छ । जस्तैः स्थायी किसिमको जागिर अथवा आम्दानी, व्यवसाय गरेको व्यक्ति भएमा व्यवसायिक प्रगति अथवा स्थायीत्वले महत्वपूर्ण भूमिका खेल्दछ ।
४) पढाईः साधारणतय प्राथमिक विद्यालयका ३ कक्षासम्मको बराबर जापानी भाषा पढ्न र लेख्न सक्ने हुनुपर्दछ । हिरागाना, कातागाना र खान्जी लगभग १५० जति जान्नुपर्ने हुनुपर्दछ । जापान आउने बेलामा विद्यार्थी भिसामा आउनुभएको हो र बोलीचालीमा खासै समस्या छैन भने परीक्षा नलिन पनि सक्छ । तर विद्यार्थी भिसामा जापान आएको नभई जापानमा जापानी भाषा स्कूल, सेनमोन गाक्को अथवा कलेन जानुभएको छैन भने तपाईँलाई परीक्षा लिन सक्ने सम्भावना रहन्छ ।
५) पेन्सन तथा स्वास्थ्य बीमाः किखा आवेदकले कर मात्र नभएर पेन्सन पनि तिरेको हुनुपर्दछ । स्वास्थ्य बीमा अथवा पेन्सनमा प्रवेश गर्नुभएको छैन भने तपाईंले किखाको लागि आवेदन दिन सक्नुहुन्न । त्यसो त काम गर्ने कम्पनीबाट स्याकाइ होकेनमा प्रवेश गर्नुभएको छ भने त्यसमा खासै समस्या हुँदैन तर कम्पनीबाट स्याकाइ होकेन छैन भने आवेदकले कोकुमिन नेन्किन अथवा पेन्सन र कोकुमिन खेन्कोउ होकेन अथवा वीमामा प्रवेश गर्नुपर्ने हुन्छ । त्यसो त यदि पेन्सन तिर्नु भएको छैन भने आवेदन गर्ने समयको अन्तिम वर्षको तिरेर आवेदन दिन पनि सक्नुहुनेछ ।
६) सुरक्षित आयस्रोत अथवा नोकरीः किखा आवेदकको भरपर्दो अथवा सुरक्षित आयस्रोत अथवा नोकरी हुन आवश्यक छ । आयस्रोत विना सुरक्षित जीवनयापन गर्न सकिंदैन । त्यसैले भरपर्दो जागीर हुन आवश्यक छ । व्यवसाय गर्ने व्यक्तिले किखा आवेदन दिने अवस्थामा उसको कम्पनीको आम्दानी हेर्ने गर्दछ । साधारणतय कुनै कम्पनीको कर्मचारी भएर काम गरेको छ भने समस्या हुँदैन । तलवको हिसावले यति नै हुनुपर्दछ भनेर खासै नतोकिए पनि जीवनयापनको लागि प्रयाप्त अथवा पुग्ने आम्दानी हुनुपर्दछ । लामो समयसम्म एकै ठाउँमा काम गरेको छ भने केही प्लस पोइन्ट त हुन्छ नै तर काम परिवर्तन गरेको अवस्थामा पनि पहिलेको भन्दा राम्रो जागीर र बढी तलव भएको अवस्थामा कुनै समस्या हुँदैन ।
७) सवारी नियम उल्लंघन नगरेकोः सवारी अनुमति पत्र लिएकाहरुले कुनै पनि ट्राफिक नियम उल्लंघन नगरेको हुनुपर्दछ । एइज्यू अथवा जापानी पासपोर्ट आवेदकले सवारी साधन चलाएर दुर्घटना गराएको अवस्थामा एकदमै नराम्रो मानिन्छ । त्यसो त दुर्घटनामा प्रकृति फरक हुने गर्दछ । अन्य सवारी साधन अथवा सडक यात्रीलाई ठक्कर दिएर दुर्घटना गरेको छ भने त्यसको नराम्रो रेकर्ड हुन जाने भएकोले सावधानी अपनाउनुहोस् ।
नोटः विशेषत आवश्यक कागजातहरु आवेदक अनुसार फरक फरक हुने हुनाले यस सम्बन्धमा सम्बन्धित ठाउँमा परामर्श लिनुहोस् ।