‘जापानमा रहेर कति वर्ष भइसक्यो तर भिसा १ वर्ष भन्दा पाएकै छैन । एउटै कम्पनीमा कति वर्ष भइसक्यो काम गर्न थालेको तर भिसा एक वर्ष भन्दा आउँदै आउँदैन ।’ किन यस्तो हुन्छ ? यो धेरैको मुखबाट सुन्ने गरेको कुरा हो । जापान बसेको ५-१० वर्ष भईसक्यो । हरेक वर्ष भिसा एप्लाई गर्छन, १ वर्ष भन्दा बढीको भिसा मिल्दैन । त्यसो त जापान आएको धेरै वर्ष भएर पनि हुँदैन, एउटै कम्पनीमा धेरै वर्ष काम गरेको भएर पनि हुँदैन । विशेष गरी भिसाका प्रकार अनुसार हरेकको बेग्ला बेग्लै मापनका आधारहरु छन् । काम गर्ने भिसाको प्रकार अनुसार १ वर्ष, ३ वर्ष र ५ वर्षको भिसा हुने गर्दछ ।
कतिपयले राम्रो वकिल अथवा लेखान्दास लगाएर भिसा एप्लाई गरेको खण्डमा भिसा ३ अथवा ५ वर्षको पाउन सकिन्छ भन्ने गर्दछन् तर त्यसो मात्रै पनि होइन । तर सम्पूर्ण आवश्यक कागजातहरु जुटाएर पेश गरेको खण्डमा प्राप्त गर्न सक्ने आधारहरु पनि छन् । त्यसैले वकिल अथवा लेखान्दास लगाएर सम्पूर्ण कुराहरु पेश गरेको नजिता ३ अथवा ५ वर्षको भिसा पाउने गरिएको हो । अध्यागमनका कर्मचारीहरु निकै व्यस्त रहन्छन् त्यसैले तपाइँले पेश गर्नुभएको डकुमेन्टमा केही नपुग भएमा थप पेपर माग्नुको सट्टामा पेश गरिएको डकुमेन्टकै आधारमा निर्णय गरेर पठाईने हुनाले १ वर्षको मात्र भिसा प्राप्त गर्नुभएको पनि हुनसक्छ ।
साधारणतय १ वर्ष भन्दा बढीको भिसा नपाउनुका कारणहरु निम्न हुन सक्छन् ।
(१) मुख्य व्यक्तिमा निर्भर हुने परिवारको संख्या धेरै भएमा यसो हुन्छ । विशेषत ट्याक्स तिर्न नपर्ने गरी कसैले पाल्नु पर्ने परिवारको संख्या धेरै राखेका हुन्छन् । आफ्नो श्रीमती र छोराछोरी मात्र नभएर वावा-आमा, सासु-ससुरा, दाजुभाई-दिदीबहिनी पनि राखेका हुन्छन् । त्यति मात्र नभएर दाजुभाईका छोराछोरीलाई आफ्नो छोराछोरी बनाएर नाम दर्ता गरेका पनि हुन्छन । यसो गर्दा कमाउने व्यक्तिको कमाईको आधारमा पाल्नु पर्ने परिवारको संख्या बढी हुन गई ट्याक्स जिरो हुन्छ । धेरैथोरै जति भए पनि ट्याक्स तिरकै राम्रो मानिन्छ । परिवार धेरै देखाए ट्याक्स जिरो भएको अवस्थामा ट्याक्स तिर्छु भनेर पनि हुँदैन । ट्याक्स आउने बनाउने भनेको नै डिपेन्डेन्ट परिवार संख्या घटाउने हो । अनावश्यक परिवारहरू नराखेर घटाउन सक्नुहुन्छ । त्यसो त आफ्नै बाबा आमाको नाम पनि राख्ने र हटाउने गर्न सकिन्छ । तर सानै उमेरका छोराछोरीको भने हटाउन गाह्रो हुन्छ । किन भने बाबा आमालाइ अहिले मैले हेर्नु पर्दैन अन्य दाजु भाइले हेर्नुहुन्छ भन्न पाइन्छ तर तपाइँको छोराछोरी अरू कसैले हेरिदिन्छ अथवा पालनपोषण गरिदिन्छ भन्न सुहाउने हुँदैन । उमेर पुगेको छोराछोरीको हकमा भने हटाउन मिल्छ ।
जब ट्याक्स जिरो हुन्छ अथवा आम्दानीको तुलनामा खर्च बढी देखिन्छ तब आर्थिक रुपमा लामो जापान वसाईलाई सुरक्षित मानिदैन जसले गर्दा भिसा एप्लाई गर्दा संधै १ वर्ष भन्दा बढीको नपाउने सम्भवना बढी हुन्छ ।
(२) पटक-पटक काम परिवर्तन गरेको अवस्थामा पनि भिसा १ वर्ष मात्र हुने सम्भावना रहन्छ । त्यसो त राम्रो अवसर र सुरक्षित भविष्यको लागि काम परिवर्तन गर्नु नराम्रो भने होईन । राम्रो तलब र सेवासुविधाको लागि जागिर परिवर्तन गर्नु नराम्रो मानिन्न तर पटक-पटक परिवर्तन गर्ने, पहिले गरिराखेको काम भन्दा कम तलव र सानो कम्पनी (नयाँ समेत) मा प्रवेश गर्दा भिसा १ वर्ष भन्दा बढी नआउने सम्भावना बढी हुन्छ ।
(३) काम शुरू गरेपछि विदा धेरै बस्नु राम्रो मानिन्न । हरेक कम्पनीको विदा, तलब, सेवा सुविधाको आफ्नै नियम हुन्छन । त्यसो त जापान सरकारको श्रम सम्बन्धि नियम पनि छ । जसमा कर्मचारीले हप्तामा अथवा महिनामा गर्न पाउने श्रम र ओभर टाईम पनि तोकेको छ । तर कतिपय अति आवश्यक कामले अथवा नेपाल फर्कनु पर्ने र त्यसैमा पनि महिनौं नेपाल बस्दा कम्पनीले तलब भुक्तानी गर्दैन । त्यो अवस्थामा आम्दानी घटने हुन्छ र त्यही अनुसारको खाजेइ/नोजेइ देखिन आउँछ । त्यसले पनि तपाइँको भिसा १ वर्ष भन्दा बढी नहुने अवस्था रहन्छ ।
(४) तपाइँको वालवच्चा छन् भने उनीहरु कहाँ पढिराखेका छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्छ । धेरैजसोले वालवालिकाको भिसा लगाएर पनि नेपालमा नै राख्ने गरेका हुन्छन् । यसले के देखाउँछ भने भविष्यमा लामो समय जापानमा बस्ने सोच नभएको भन्ने बुझिन्छ । जसले जापानमा नै वालवच्चा राखेर यहीं पढाई लेखाई गराएका छन् उनीहरुको हकमा भने केही प्लस पोइन्ट हुने भएकोले सकिन्छ भने डिपेन्डेन्ट भिसामा वालवच्चाको भिसा लगाएपछि जापानमा नै राखेर शिक्षादिक्षा दिनुहोस् ।
(५) कम्पनीको कारणले पनि भिसा १ वर्ष भन्दा बढि नआउने हुन सक्छ । कम्पनी घाटामा चलेको अवस्थामा अथवा अन्य कुनै कारणले कम्पनी व्ल्याक लिस्टमा परेको छ भने पनि त्यो कम्पनीमा काम गर्ने कर्मचारीको भिसामा समस्या आउँछ ।
समग्रमा आर्थिक पाटो नै सवल नभए अन्य कुरा सवल नहुने भएकोले भिसाको लागि पनि आर्थिक पाटो क्लियर गर्दै जानुपर्छ । त्यसको लागि २/४ महिनामा नै परिवर्तन गर्छु भनेर हुँदैन । अघिल्लो वर्षको जनवरी १ तारिकदेखि ३१ डिसेम्बर सम्म कमाएको कमाइ कम्पनी मार्फत अथवा आफैले पनि स्वघोषणा गर्न पाउने व्यवस्था छ । कतिपयको कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने कर्मचारीहरूको पारिवारिक विवरण माग गरेर त्यसको आधारमा आम्दानी घोषणा गरिदिएका हुन्छन भने कतिपयको सम्बन्धित व्यक्तिलाइ थाहै नदिएर गरिदिने अथवा कतिको उक्त प्रकृया नगरिदिएको पनि पाइएको छ । त्यसैले बेलैमा आफुले काम गर्ने कम्पनीसँग सल्लाह गरेर आम्दानी घोषणा गर्नुहोस् । आम्दानी घोषणा नगरेको अवस्थामा खाजेइ/नोजेइ पेपर ननिस्कने हुनाले समयमा नै सचेत रहनुहोस् ।