जापानमा हालैका दिनमा व्याचलर भिसाको धेरै नै चर्चा परिचर्चा भइरहेको छ । व्याचलर भिसा भनिए पनि यो गिजिनकोकु भिसा हो । गिजिनकोकुः गिज्युचु, जिनबुन चिसिकी, कोकुसाई ग्योउमु भिसाको सर्टफर्म हो । विशेषत यो विदेशमा व्याचलर सरहको पढाई पुरा गरेका विदेशी नागरिक सीधै जापानमा काम गर्न आउन पाउने अन्तरगतको भिसा हो । विशेषगरी कुनै क्षेत्रमा दख्खल राख्ने पढेलेखेका व्यक्तिहरु जापानमा यो भिसामा सीधै काम गर्न आउन पाउँछन । तर त्यसको लागि कम्पनीले उसलाई भर्ती गरेर काम दिने जिम्मेवारी लिनुपर्ने हुन्छ ।

यतिबेला जापानमा यही भिसामा आएर काम नपाएर अलपत्र परेकाहरु पनि धेरै नै भेटिन थालेका छन् । आज हामी यो लेख मार्फत यस भिसामा जापान आईसकेकाहरुलाई भन्दा पनि आउने इच्छा राखेकाहरु, पासपोर्ट र सर्टिफिकेट बोकेर जापान आउन खुट्टी उचाल्दै एजेन्ट खोज्दै हिड्नेहरुलाई केही सुझाव दिन चाहन्छौं ।
पहिलो कुरा जापानमा काम सजिलो छैन । नेपालमा २ दिन काम गरेर ३ दिन हल्लिएको जस्तो हुँदै होइन । तर त्यही गाह्रो काम पाउन र टिक्न निकैै मेहनत गर्नुपर्दछ । नेपालबाट कुनै कम्पनीमा आउँदै हुनुहुन्छ भने उक्त कम्पनीको बारेमा सकेसम्म धेरै बुझेर मात्र आउने प्रक्रिया गर्नुहुन सुझाव दिन्छौं । कस्तो कम्पनी हो ? के विषयसँग सम्बन्धित कम्पनी हो । दिनमा कति घण्टा, हप्तामा कति दिन काम गर्नुपर्दछ र तलव सेवा सुविधा के कति हुन्छ पहिले नै राम्ररी जानकारी लिएर आउँदा बढी उत्तम हुनेछ ।
त्यसो त दोस्रो कुरा आफूले के कति मेहनत गर्न सक्छु भन्ने कुराको पनि आँकलन गर्नुहोस । नेपालमा खासै कडा परिश्रम नगरेकाहरुको लागि जापानको काम धेरै गाह्रो हुन सक्छ । त्यसै गरी अर्को कुरा छ यहाँको भाषा । जापानमा प्रयोग हुने भाषा भनेको जापानी नै हो । धेरैजसो नेपालीहरु अंग्रेजी भाषामा धेरथोर ज्ञान भए पनि त्यसको खासै यहाँ काम छैन । जापानी भाषा नै सकेसम्म धेरै पढ्नुहोस् । यहाँनेरी एउटा के समस्या हुन्छ भने पहिलेदेखि नै भाषा पढ्दा भिसा आउने हो कि होइन थाहा नहुने । सिओई आएपछि जति सकिन्छ छिटो जापान आउनु पर्ने । यो नै भाषा प्रगतिको लागि वाधक हो । त्यसैले जसरी हुन्छ भाषा पढेर नै आउनुस । कतिपयले कतिसम्म भनेका छन् भने भाषा राम्रोसँग पढ्नुपर्छ भन्दा बरु केही पैसा बढी दिन तयार तर भाषा पढ्न भनेपछि आनाकानी गर्दा अन्तिममा दुःख पाउने भनेकै आफैले नै हो । तसर्थ भाषा जसरी हुन्छ धेरै पढ्न सुझाव दिन्छौं ।
जापान आउने भएपछि जापानको बारेमा धेरै कुराहरु गुगल गरेर हेर्नुस । यहाँको चलन, संस्कार, रहनसहन जापानी भाषा नबुझे पनि अन्य भाषामा धेरै इन्फरमेशनहरु पाइन्छन ती कुराहरु हेर्नुस् । हरेक नयाँ कुराहरु मेमो गरेर लेख्नुस र मनन गर्नुस् । एकदिनमा कम्तीमा पनि १० वटा शब्द लेखेर सम्झने कोशिस गर्नुहोस् । आफूले सम्झेका ती १० शब्दहरु प्रयोग गरेर बाक्य बनाउने कोशिस गर्नुहोस् । जापान आईसकेपछि पनि कोठामा खुम्चिएर नबस्नुस, यताउता घुम्नुस, अनुशासित हुनुस । र कहिंकतै याता उता गर्दा पनि अन्य व्यक्तिहरुलाई असर पर्छ कि भनेर सोच्नुस । अनुशासित हुनुस । यो अनुशासन भएको देश हो । तपाइँ बसेको समाजमा एक सभ्य र सहयोगी नागरिक बन्ने काेशिस गर्नुस ।
कुनै पनि देशमा बस्नको लागि त्यहाँको भाषा र भिसा अति नै महत्वपूर्ण हुन्छ । यो डवल भी एकदमै महत्वपूर्ण छः भाषा र भिसा । जसोतसो भिसा त लगाएर आउनु होला तर भाषा भएन घरको न घाटको भइन्छ । धन्यवाद ।